सुनसरीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

Posted on: 03 Jul, 2018

असार १९ सुनसरी । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालिका–४ कोशी कटानमा भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनाको पुष्टि गर्दै ६ जनाको मृत्यु भएको जनाएको छ । 

मृतकमध्ये भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीयाका ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमारको मात्रै सनाखत हुन सकेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

स्कारपिओ जिप अनियन्त्रित भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!