निर्मला हत्या प्रकरणः एसपी डिल्लीराज विष्टसहित नौ प्रहरीसंग बयान सुरु

Posted on: 18 Sep, 2018

असोज २, काठमाडौँ | कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको छानबिन समितिले काम सुरु गरेको छ । 

समितिले सोमबार मात्रै पन्तको बलात्कार र हत्या घटना अनुसन्धानमा संलग्न एसपी डिल्लीराज विष्टसहित नौ अधिकारीसँग प्रहरी प्रधान कार्यालयमा बयान लिएको छ । 

अनुसन्धानमा प्रत्यक्ष संलग्न १६ जनाको बयान लिने तयारीअनुरूप सबैलाई प्रधान कार्यालयमा बोलाइसकिएको छ । सबैजसो अधिकारीसँग अनुसन्धानमा उनीहरूको भूमिका के थियो, अनुसन्धान कसरी अगाडि बढाइयो भन्नेदेखि अनुसन्धान निष्कर्षमा पुग्न नसक्नुको कारणबारे सोधिएको छ । 

समितिले निर्मला पन्तको अनुसन्धानमा संलग्न ६ जनाको बयान लिइसकेको छ भने अन्यको पनि पालैपालो बयान लिइनेछ । प्रत्यक्ष रूपमा घटनाको अनुसन्धानमा खटिएकाहरूको पोलिग्राफ टेस्टसमेत गर्ने समितिको तयारी छ । 

एक सदस्यका अनुसार घटना कसरी घट्यो र दोषी को हो भन्दा पनि प्रहरीको अनुसन्धान कहाँ, कसरी र कस्तो त्रुटि भयो भन्नेमा समिति केन्द्रित भएको छ ।

यसअघि भदौ १४ मा प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति गठन गरे पनि केही दिनमै उनी नियमित कार्यक्रममा सहभागी हुन चीन पुगेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनी एक सातापछि मात्रै नेपाल आइपुग्नेछन् । 

समितिको नेतृत्व गरेकै व्यक्ति चीन गएपछि र त्यसलगत्तै गृहले अनुसन्धानमा संलग्न अधिकारीलाई निलम्बन गरेपछि दबाबमा परेको प्रहरीले डीआईजी बस्नेतको नेतृत्वमा समिति गठन गरेको थियो । - आजको कान्तिपुर दैनिकमा यो खबर छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!