विष्ट सुतिरहेको बेला पनि 'कुटिहाल्यो, मारिहाल्यो, बचाऊ–बचाऊ’ भन्दै चिच्याउछन्'

Posted on: 01 Oct, 2018

असोज १५, काठमाडौँ | भीमदत्त नगरपालिका २ बागफांटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रूपले अस्वस्थ थिए । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ ।

हिरासतमा यातना दिइएकाले उनी मानसिक रूपमा झन् कमजोर भएको परिवारजनले जनाएका छन् । २५ दिन हिरासतमा राखिएका विष्ट डीएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिए । दाजु खडकका अनुसार अहिले उनी नयाँ मान्छे देख्नेबित्तिकै डराउछन् । सुतिरहेका बेला पनि ‘कुटिहाल्यो, मारिहाल्यो, बचाऊ–बचाऊ’ भन्दै चिच्याउछन्। ‘पहिलेदेखि नै अस्वस्थ थियो, अहिले झन् बिग्रिएको छ,’ उनले भने, ‘घरकै मान्छे देख्दा पनि डराउछ, भाग्छ ।’ 

प्रहरीले पक्राउ गर्नुअघिसम्म दिलीप एक्लै महेन्द्रनगर बजार आउजाउ गर्थे । अहिले घरबाट बाहिर निस्कदैनन् । स्वभाव एकोहोरो भएको छ । नुहाउन थाले दिनभरि नुहाइराख्छन्। दांत माझ्न थाले लामो समय त्यही गरिराख्छन् । प्रहरीले भदौ ४ गते दिलीपलाई मुख्य आरोपीका रूपमा सार्वजनिक गरेको थियो । मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई पक्रेर दोषी उम्काउन खोजिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा भवानी भट्टले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!