म्यानपावरद्वारा मलेसियाको डिमान्ड हात पार्न ३ अर्ब कमिसन

Posted on: 08 Nov, 2018

कात्तिक २२, काठमााडौं | मलेसिया जाने कामदारको भिसा हात पार्न वैदेशिक रोजगार व्यवसायीले विदेशी मुलुकस्थित दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन बुझाउने गरेका छन् । 

मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा आएमा नेपालबाट यति ठूलो रकम विदेश पलायन हुनबाट जोगिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्वास छ । 

व्यवसायीका अनुसार एउटा कामदारको भिसाका लागि कम्तीमा एक हजार रिंगेट (करिब २८ हजार रुपैयाँ) कमिसन दिनुपर्छ । ‘मलेसियामा सरदर वार्षिक ८० हजारदेखि एक लाख जना नेपाली जाने गरेका छन् । यी भिसा लिन कम्तीमा ३ अर्ब कमिसन बुझाइराख्नुपरेको छ,’ एक म्यानपावर व्यवसायीले भने, ‘कमिसन कम्पनीको हैसियत हेरी बुझाउनुपर्छ । जति राम्रो र ठूलो कम्पनी हो । त्यति बढी कमिसन बुझाउनुपरेको छ । सरदर कम्पनीको हैसियत हेरी एक हजार रिंगेटदेखि ३५ सय रिंगेटसम्म बुझाउनुपर्छ ।’

नेपाली म्यानपावर व्यवसायीले बुझाउने कमिसन बंगलादेशी म्यानपावरले बुझाउनेभन्दा कम हो । नेपाली कामदारको मुख्य प्रतिस्पर्धी बंगाली भएको उनीहरूको बुझाइ छ । ‘बंगाली कामदारका लागि भिसा पाउन कम्तीमा ३५ सय डलर बुझाउनुपर्छ,’ उनले भने ।

- यो समाचार आजको कान्तिपुरले पृष्ठ १४ मा यो समाचार छापेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!