मृत्यु संस्कार छोट्याउँदै, प्राध्यापक भन्छन्:- '५ दिनमा सार्नै नमिल्ने भन्ने कतै लेखिएको छैन'

Posted on: 20 Nov, 2018

मंसिर ४, काठमाडौं । हिन्दु परम्परा अनुसार १३ दिनमा सम्पन्न गरिने मृत्यु संस्कारलाई पछिल्लो समय पाँच वा सात दिनमा छोट्याउन प्रचलन बढ्न थालेको छ । यसै क्रममा इटहरीका प्राध्यापक डा. बद्री विशाल पोख्रेलले आमाको मृत्यु संस्कार सात दिनमा छोट्याउन लागेका छन्।

उनकी आमा हरिमाया पोख्रेलको निधन गत मंसिर १ गते राति भएको थियो । इटहरीस्थित आफ्नै घरमा दाजु बल्लभसँगै किरिया बसेका उनले भने, ‘आज तेस्रो दिन भयो, म सात दिनमा मृत्यु संस्कार सक्दैछु ।’

मृत्यु संस्कार नघटाउन परिवार, आफन्त, धर्म गुरु र पण्डितहरुको व्यापक दबाब आइरहेको पोख्रेलले बताए । उनले भने ‘परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, हामी जत्तिको बुझेको मानिसले नगरे कसले गर्ने।’

उनले हिन्दु संस्कारहरु भारी, जटिल र खर्चिला भएकैले धर्म परिवर्तन बढेको दाबी गरे। ‘संस्कारलाई समय अनुसार सरल बनाएर लान नसके धर्म परिवर्तनको विकृति फैलिन्छ’ प्राध्यापक पोख्रेलले भने

उनका अनुसार १३ दिनको संस्कार ५ दिनमा सार्नै नसकिने भन्ने कतै लेखिएको छैन। जुद्धशमशेरकै पालामा ४५ दिनको संस्कारलाई १३ दिनमा झारिएको उल्लेख गर्दै वैदिक संस्कारमा धेरै विकल्प रहेको समेत जानकारी दिए ।

उनले पण्डितहरुले भड्काउने र संस्कार पूरा समय नगरे घरका अन्य सदस्यहरुको समेत अकालमा मृत्यु हुने जस्ता डर देखाउने काम भएको भनदै सचेत वर्गले संस्कारलाई परिवर्तन गर्न जागरुकता देखाउनु पर्नेमा जोड दिए ।

पारिवारिक दबाबका कारण दाजु बल्लभ भने १३ दिन नै किरिया बस्न लागेका छन् । १० औं दिनमा गहुँत खाने र श्रद्धाञ्जली सभा आयोजना गर्ने प्राध्यापक पोख्रेलको योजना छ । साथै संस्कार छोट्याउन सहयोग गर्ने ब्राह्मणलाई सम्मान समेत गर्ने उनले सुनाए। अन्नपूर्णपोष्टबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!