'निर्मलासँग उत्तेजित भएपछि बलात्कार, पछि विशालले पनि बलात्कार गरे'

Posted on: 08 Dec, 2018

मङ्सिर २२, काठमाडौं | निर्मलाको हत्यामा संलग्न अपराधीको निकट पुगेको बताएको नेपाल प्रहरी यतिखेर पर्ख र हेरको अवस्थामा छ । केहि संचार माध्यमले प्रहरी स्रोतको हवाला दिंदै निर्मला हत्या प्रकरणमा छिमेकी प्रदिप रावल र विशाल चौधरीले आफूहरुको संलग्नता रहेको स्वीकारेको उल्लेख गर्दै समाचारहरु दिएका छन् ।

समाचार अनुसार प्रहरीसँगको बयानको क्रममा निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका हुन् ।

सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछका क्रममा बताएका हुन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बताएको छ ।

आजको नयाँ पत्रिकामा दैनिकका अनुसार, महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै जना लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । उनीहरुलाई छुट्टा-छुट्टै राखेर सोधपुछ गर्दा ८० प्रतिशत कुरा मिलेको कारण पनि प्रहरीले घटनामा उनीहरुको संलग्नता रहेको बुझेको छ तर डीएनए रिपोर्ट नआई प्रहरीले केहि सार्वजनिक नगर्ने स्थितिमा छ ।

पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको प्रदिप रावलले बताएका छन् । साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ । रावलले निर्मलासँग उत्तेजित भएपछि बलात्कार गरेको भनेका छन् र पछि विशालले पनि बलात्कार गरेको कुरा बताएका छन् ।

बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!