आयल निगमलाई इन्धनमा १५ दिनमै १ अर्ब ३३ करोड नाफा !

Posted on: 09 Jan, 2019

पुस २५, काठमाडौं । नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ । 

उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो । १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो ।  

आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको मूल्य भने निकै कम घटाइएको छ । आइओसीले १५ कात्तिकमा पेट्रोल ६७ रुपैयाँ ९३ पैसा प्रतिलिटरमा निगमलाई बिक्री गरेको थियो । 

त्यसको दुई महिनापछि १७ कात्तिकमा पेट्रोल प्रतिलिटर २१।७४ रुपैयाँ घटाएर ४६.१८ रुपैयाँमा दिएको छ । डिजेल ७२.८० रुपैयाँबाट १८ रुपैयाँ घटाई ५४।७५ रुपैयाँ प्रतिलिरटमा दिएको छ । मट्टीतेल प्रतिलिटर ७७.१२ रुपैयाँबाट १९.८४ घटाई ५७.२८ रुपैयाँमा दिएको छ । 

तर, निगमले यसबीचमा नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा तीनपटक गरी ६–६ रुपैयाँ मात्र घटाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!