चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौं | काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । 

प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।  

मन्दिर आसपासमा  धेरै वृद्धवृद्धा

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ ।

सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने, ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’ प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिरआसपासका क्षेत्रमा धेरै छन् । त्यसमा पनि भिख माग्ने वृद्धवृद्धाको संख्या धेरै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!