नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेटसँगै गृह मन्त्रालय सतर्क

Posted on: 21 Mar, 2019

चैत ७, काठमाडौं | नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ ।

मन्त्रालयले जारी भीभीआइपी र भीआइपीको नाममा जारी गरेको पत्रमा अहिलेको विसम परिस्थितीलाई ध्यानमा राखेर जानै पर्ने कार्यक्रमबाहेक अन्य कार्यक्रममा सकेसम्म सहभागी नहुनु भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी हुनै परे पनि सुरक्षा सतर्कता अपनाउन गृहले आग्रह गरेको बुझिएको छ । विशेष गरी गृहले उपत्यका बाहिरको कार्यक्रममा सकभर आवश्यकता हेरी मात्र सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई विभिन्न सभा, समारोहमा सहभागिताका लागि निमन्त्रणा आउँदा सुरक्षा अवस्थालाई ख्याल गरेर मात्र ती कार्यक्रममा सहभागी हुन गृहले पत्राचार गरेको उपराष्ट्रपति कार्यालयको उच्च स्रोतले जनाएको छ । 

- यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!