९२ वर्षअघिको त्यो तस्बीर

Posted on: 26 Apr, 2019

वैशाख १३, काठमाडौँ | अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो ।

त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार छापिएको थियो । 

सर्वसाधारणको तस्बिर छापिएकोले राष्ट्रिय फोटो पत्रकार समूहको सक्रियतामा झण्डै दुई दशकदेखि हरेक वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदैआएको छ ।

वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा ‘विविध विषय’ शीर्षकमा कपासको गुणका बारेमा एउटा आलेख छापिएको थियो । विविध विषयको ठिक मुनि “श्री चन्द्र कामधेनु चर्खा प्रचारका खेति विभागद्वारा प्रकाशित कपास खेतिको साधारण सूचना” भनी छापिएको थियो । 


त्यसको मुनी महिलाले चर्खाबाट धागो कातिरहेको तस्बिर छापिएको थियो र तस्बिरको मुनी “आफ्ना कपाशका बगैचामा ‘श्रीचन्द्र कामधेनुचर्खा’ द्वारा धागो काती रहेकी, वर्ष १२ को, वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठनी” भनी तस्बिरको विवरण (क्याप्सन) छापिएको थियो ।

- यो गोरखापत्र समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!