नेकपा एकताले १५ महिनापछि पूर्णता पाउने, प्रचण्डको भूमिका खोजिँदै

Posted on: 21 Jul, 2019

साउन ५, काठमाडौँ | पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ ।

विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

उनले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘कतिपय विषयमा सहमति जुटिसकेको छ, केही विषयमा सहमति जुट्न बाँकी छ, सम्भवत् सचिवालय बैठकले बाँकी कामको टुंगो लगाउनेछ ।’

महत्वपूर्ण मानिएको विभाग र आयोग प्रमुखको नामावली मोटामोटी टुंगो लागिसकेको छ । विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल र संगठन विभागको प्रमुखमा वामदेव गौतम रहने सहमति जुटेको बताइएको छ । 

पूर्व एमालेबाट विभाग र आयोगको प्रमुख बन्नेहरुको नामावली तयार भएपछि पूर्व माओवादी केन्द्रको भागमा परेको विभाग प्रमुखको नामावली टुंगो लगाउन प्रचण्डलाई सकस परेको छ । विभाग र आयोगको प्रमुख बन्ने आकांक्षीको संख्या धेरै हुँदा नाम टुंगो लाग्न नसकेको बताइएको छ । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!