मलेसिया खोल्न भदौ अन्तिम साता दुई देशीय बैठक बस्ने

Posted on: 25 Aug, 2019

भदौ ८, काठमाडौं | मलेसिया रोजगारी खुलाउन भदौ महिनाभित्र क्वालालम्पुरमा दुई देशीय बैठक हुने भएको छ। १५ महिनादेखि बन्द भएको उक्त देशमा रोजगारीको लागि खोल्न बैठेक बस्ने भएको हो | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ स्वास्थ्य संस्थालाई सूचीकृत गरेर साउन २१ मा सूचीकृत नाम मलेसिया पठाएको थियो | नामावली पठाएपछि दुई देशीय बैठक हुन लागेको हो ।

मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र निर्देशिका पूरा गरेको विशेषज्ञ समितिको सिफारिसका आधारमा यी संस्था छानिएका थिए । ‘मलेसियाको मानव संसाधन मन्त्रालयले संयुक्त कार्यदल बैठक सेप्टेम्बर दोस्रो साता गर्ने जानकारी गराएको छ,’ मलेसियन राजदूत उदयराज पाण्डेले जानकारी दिए |

उक्त बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीसहितका पदाधिकारी क्वालालम्पुर जाने भएका छन् । नेपालले पठाएको स्वास्थ्य संस्थाको सूची र तोकिएको मापदण्डबारे द्विपक्षीय छलफल भएपछि सहमतिका आधारमा मलेसिया रोजगारी खुल्ने श्रम मन्त्रालयका एक अधिकारीले बताए ।

गत वर्ष जेठ २ मा श्रम मन्त्रालयले एकपक्षीय रूपमा तोकिएका संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने प्रावधान हटाएपछि मलेसिया रोजगारी बन्द भएको थियो । गत कात्तिकमा श्रम सम्झौता भएपछि बायोमेडिकल गर्ने संस्था छनोटमा ढिलाइ भएकै कारण रोजगारी खुल्न सकेको थिएन। - यो समाचार आजको कान्तिपुर दैनिकमा छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!