बलात्कारीहरुलाई खोज्दै बलात्कृत महिला राजधानीमा (घटना यसरी भयो)

Posted on: 23 Jul, 2016

साउन ८, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आएकी छन् ।

पीडकहरुले पैसा र पावरको पटक-पटकको धम्कीले बिचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको उनले बताइन् । तामाङले पतिसँग सम्बन्धविच्छेद गरेको ६ वर्ष भइसक्यो । 

घटना चार दिन अगाडिको हो । आफ्नो गुजारा चलाउन उनी नुवाकोटको बिदुर नगरपालिकामा एउटा होटल सञ्चालन गरेर बसेकी थिइन् । 

दिनभर सिमसिमे पानीमा रुझ्दै खेतमा काम गरेर आएकी उनी थकित थिइन् । उनी मासु पकाइरहेकी थिइन् । होटलको कोठामा पकाएर खाने भएकाले उनी सटर आधा खोलेर मासु पकाउँदै थिइन् । यत्तिकैमा कति मिठो बासना आएको भन्दै तीन जना रक्सीले मातिएका व्यक्ति पसलमा छिरे । उनले पसल आज नखोलेको बताएपनि उनीहरु जान मानेनन् ।

केहीबेर रक्सी खाएपछि उनीहरुले आज यही बस्ने बताए । तामाङले आफ्नोमा बस्ने व्यवस्था नभएको बताएपनि उनीहरुले उनलाई जबरजस्ती गरे । उनले ती व्यक्तिलाई कोठा देखाउन जाँदै गर्दा समातेर लछारपछार पार्दै तीन जनाले रातको १२ बजेसम्म सामूहिक  बलात्कार गरिरहे । उनले रोइकराई गर्दा उनीहरुले हल्ला गरे मारिदिने भन्दै उनलाई धम्काए ।

बल्लतल्ल बलात्कारीको चंगुलबाट उम्किएर उनी प्रहरी कार्यालय पुगिन् । तर प्रहरीले रातको १२ बजेसम्म पसल खोल्ने भन्दै उल्टै गाली गरे । उनको बेदना सुनेर अन्तमा उनीहरुले उजुरी भने दर्ता गरेको तमाङले बताइन् । आफूलाई पीडा दिनेहरु काठमाडौंमा रहेको थाहा पाएपछि उनी राजधानी आएकी छिन् । पीडकलाई पक्रन सहयोग माग्न उनी माइती नेपाल आइपुगेकी हुन् । - अन्नपूर्ण पोष्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!