काभ्रेमा स्थानीय तह पुनःसंरचनाको विषयमा दल विभाजित

Posted on: 09 Nov, 2016

 कात्तिक २४, बनेपा । काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनःसंरचनाको विषयमा राजनीतिक दलहरु विभाजित भएका छन् । 

पुनःसंरचनाको विषयमा नेपाली काँग्रेस, नेकपा (एमाले) नेतृत्वको एउटा र नेकपा (माओवादी केन्द्र) सहितका विभिन्न दलले अर्को गरेर जिल्ला प्राविधिक सहयोग समितिमा फरक फरक दुई प्रस्ताव पेस गरेका छन् । दुई फरक प्रस्तावसँगै पुनःसंरचनाको जिम्मेवारी प्राविधिक सहयोग समितिलाई नै दिइएको छ । 

सो प्रस्तावमा आजदेखि प्राविधिक सहयोग समितिले काम सुरु गर्ने प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी टेकराज निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाको सीमाङ्कन, वडाको सीमाङ्कन, नगरपालिकाको सीमाङ्कन, नगरपालिकाको केन्द्रलगायत धेरै विषयमा टुङ्गो लगाउनुपर्ने भएकाले केही दिन लाग्नेसक्ने उहाँको भनाइ छ । 

काभ्रेपलाञ्चोकमा काँग्रेस, एमाले सहितका विभिन्न साना दल आठ गाउँपालिका र ६ नगरपालिकासहित १४ स्थानीय निकाय हुने एउटा र माओवादीसहित केही साना दल एक उपमहानगरपालिकासहित १२ स्थानीय निकायको पक्षमा रहेका छन् । चार महिनादेखि धुलिखेलमा निरन्तर जारी राजनीतिक दलको बैठकमा सङ्ख्या र सीमाङ्कनको विषयमा विवाद देखिएको थियो । 

स्थानीय तह पुनःसंरचना आयोगलाई पुनःसंरचनासम्बन्धी प्रतिवेदन बुझाउने म्याद यही कात्तिक २० गते नै समाप्त भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!