दुर्गमको विकास गर्न योजनाबद्ध काम भइरहेको छ: प्रधानमन्त्री

Posted on: 22 Nov, 2016

मङ्सिर ७, ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष प्राथमिकता दिने बताएका छन् । 

कञ्चनजङ्गा हीरक महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले ताप्लेजुङको पर्यटन विकासका लागि तिब्बतको सीमा जोड्ने ओलाङ्चुङगोला लोकमार्गको निर्माण, तमोर करिडोर निर्माण, दोभानको मोटर गुड्न पुललगायत पूर्वाधार निर्माणका लागि विशेष पहल गरिने बताए । 

भौतिक पूर्वाधारको अपेक्षित विकास नहुँदा यहाँका स्थानीयबासिन्दाको जीवनस्तर तुलनात्मकरुपमा कठिन बन्दै गएकामा आफू सचेत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पिछडिएका एवम् दुर्गम क्षेत्रको विकासका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । 

पर्यटन विकासका लागि जलवायु परिवर्तन मुख्य चुनौती भएको उल्लेख गर्दै उनले जलवायु अनुकूलन योजना निर्माणमा समेत सरकार सजग भएको बताए । जलवायु परिवर्तनको असर खासगरी हिमाली क्षेत्रमा बढी देखिएको र यसले मानिसको जनजीवनमा समेत प्रत्यक्ष असर गरेको उनको भनाइ थियो । 

प्रधानमन्त्री दाहालले गत वर्षको बाढीपहिरोबाट विस्थापितलाई पुनःस्थापना गराउने विषयमा समेत सरकार प्रतिबद्ध भएको बताए । 

महोत्सवमा श्रममन्त्री, पर्यटन मन्त्रालयका सचिव, पर्यटन बोर्डका अध्यक्ष, व्यवस्थापिका–संसद्, विकास समितिका सभापतिलगायतको उपस्थिति थियो । जिल्लाको सुकेटारमा आजदेखि सुरु भएको कञ्चनजङ्गा हिरक महोत्सव बिहीबार सम्पन्न हुने बताइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!