जेठमा स्थानीय निकायको निर्वाचन गराउन माग

Posted on: 11 Feb, 2017

माघ २९, सल्लेरी | नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । 

यहाँ आज आयोजित जनताको बहुदलीय जनवादसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुक सङ्कटमा परेकाले सबैको सहमति जुटाइ निर्वाचन गर्नुपर्ने बताउनुभयो । 

मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा भएको कार्यक्रममा उहाँले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउनुभयो । वर्तमान सरकारले चुनाव गर्न नसके त्यसको नेतृत्व नेकपा (एमाले)ले गर्ने र शान्तिपूर्ण ढङ्गबाट जेठ महिनामा निर्वाचन गराउन आफूहरु तयार रहेको उहाँको भनाइ थियो । 

देशलाई लोकतान्त्रिक पद्धतिमा लैजानका लागि सहमतिमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । सहमति भए संविधान कार्यान्वयका लागि नेकपा (एमाले) हदैसम्मको लचकता अपनाउन तयार रहेको भट्टराइले बताउनुभयो । 

प्रदेश नं १ मुलुकमै प्राकृतिक हिसाबले महत्वपूर्ण प्रदेश रहेको र पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेका हुँदा यसको प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको समेत उपस्थिति रहेको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!