स्थानीय निकाय भङ्गपछि इलाका कार्यालय धमाधम उद्घाटन हुँदै

Posted on: 13 Mar, 2017

फागुन ३०, काठमाडौँ । जिल्ला विकास समिति र गाउँ विकास समितिका कार्यालय भङ्ग गरिएपछि जिल्लास्थित घोषणा गरिएका पाँच गाउँपालिका र दुई नगरपालिकाका इलाका कार्यालय धमाधम उद्घाटन भइरहेका छन् । 

जिविसको कार्यालय र १८ गाविस रहेका डडेल्धुरा जिल्लालाई दुई नगरपालिका र पाँचवटा इलाकामा परिणत भएसँगै आइतबारदेखि लागू हुने गरी गाविसका कार्यालयलाई भङ्ग गरिएको जिविसले जनाएको थियो । 

स्थानीय तहका कार्यालय भङ्ग भएसँगै गाउँपालिकाका कार्यालयहरु धमाधम उद्घाटन हुन थालेका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी गराउनुभयो । 

डडेल्धुरामा अमरगढी र परशुराम गरी दुई नगरपालिका र अजयमेरु, भागेश्वर, आलिताल, गन्यापधुरा र नवदुर्गा गरी पाँच इलाकामा १८ गाविसलाई विभाजन गरिएको हो । 

गाउँपालिका विभाजनसँगै इलाका कार्यालयहरुमा वरिष्ठ सचिवले कार्यकारी अधिकृतका रुपमा काम गर्ने गरी कार्यालय व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको जनाइएको छ । गाविसबाट गरिने कामकाज वडा कार्यालय र अन्य कार्यहरु इलाकाबाट गरिने व्यवस्था रहने गरी सर्वसाधारणका कामकाज आगाडि बढाइने इलाका कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!