चुनावको तिव्र तयारीमा डडेल्धुरा निर्वाचन कार्यालय

Posted on: 23 Mar, 2017

चैत १०, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । 

डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य सम्पन्न गरिसकेको जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले जानकारी गराउनुभयो । 

जिल्लास्थित मतदान केन्द्र सिफारिस समितिले डडेल्धुरामा ७७ निर्वाचन स्थलका लागि निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ, भने निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको विवरण समेत सङ्कलन गरिसकेको छ । 

डडेल्धुरामा १३ राजनीतिक दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन शिक्षा र मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत नायकले जनाउनुभएको छ । 

डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ७६ हजार मतदाता रहेको जनाइएको छ । जिल्लामा ७६ हजार ९८८ मतदाता रहेको भए पनि निर्वाचन आयोगबाट अन्तिम नामावली आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचनको सुरक्षाको लागि भन्दै जिल्लाको सुरक्षा अवस्थाका बारेमा रणनीति बनाइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि सुरक्षा निकायसँग छलफल गरिरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो । 

जिल्लास्थित राजनीतिक दलसमेत आआफ्ना कार्यक्रम लिएर सदरमुकामदेखि गाउँपालिका र वडासम्म गाउँ अभियानमा व्यस्त रहेका छन् । करिब दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनपश्चात् विकासले गति लिने समेत आम सर्वसाधारणले विश्वास लिएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!