मुस्ताङमा ३७ मतदान केन्द्र निर्धारण गरियो

Posted on: 24 Mar, 2017

चैत ११, मुस्ताङ । वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो ।

जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । “धेरैमा आधा घन्टाको बाटोमा हामीले मतदान केन्द्र निर्धारण गरेका छौँ । सबैले मतदान गर्ने वातावरण पनि बन्दैछ”, उहाँले भन्नुभयो । 

मुस्ताङमा पाँचवटा गाउँपालिकामध्ये लोमान्थाङ गाउँपालिकामा सबैभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

विभिन्न चरणमा सङ्कलन गरिएको फोटोसहितको मतदाता नामावलीबाट जिल्लामा आठ हजार पाँचसय ३७ मतदाता रहेको अधिकारी लामिछानेले जानकारी दिनुभयो । “केही दिनमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीमा हामी जुटेको छौँ, बदर मतलाई कम गराउने अभियानमा कार्यालय लागेको छ”, उहाँले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!