माओवादी केन्द्रले स्थानीय तहमा इन्चार्ज तोक्यो

Posted on: 29 Mar, 2017

पर्वत । संघीय पुर्नसंरचनामा देश गएसँगै नेकपा माओवादी केन्द्र पर्वतले सोही अनुसार आफ्नो कमिटिहरु विस्तार गर्ने अभियानमा लागेको छ । माओवादी केन्द्र पर्वतले स्थानीय निकायको चुनावलाई लक्षित गरी गाउँ जागरण अभियान तथा कमिटिलाई पुर्नगठन गरेसँगै स्थानीय निकायका लागि संयोजक समेत तय गरेको छ ।

केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकेको हो । इन्चार्ज र संयोजकले स्थानीय तहको चुनावलाई लक्षित गरी पुराना गाउँ कमिटिलाई भंग गर्दै नयाँ कमिटि गठन गर्ने जिम्मा दिइएको छ । 

केन्द्रिय सदस्यहरुलाई स्थानीय तहको संयोजकका रुपमा चयन गरेको छ । भने सोही अनुसार नयाँ कार्यसमिति समेत गठन गरिएको छ । पुरानो गाउँ विकास समितिको कमिटिलाई भंग गर्दै पुर्नसंरचना अनुसार वडा कमिटि पुर्नगठन गरेको छ ।

 कुश्मा नगरपालिकाको इन्चार्जमा सुदिप कुवँर र संयोजक शंकर गिरी रहेका छन् । त्यस्तै ,फलेवास नगरपालिकामा इन्चार्ज प्रेम राना, संयोजक भुवन शर्मा पौडेललाई तोकेको छ । 

जलजला गाउँपालिका इन्चार्ज बाबुराम कार्की, संयोजक दिपक आचार्यलाई पार्टीले तोकेको छ । मोदी गाउँपालिकामा इन्चार्ज कृष्ण विक, संयोजक मनबहादुर पौडेल रहेका छन् । विहादी गाउँपालिकामा केन्द्रिय सदस्य कृष्ण पराजुलीको अध्यक्षतामा विहादी गाउँपालिकामा नयाँ कमिटि गठन भैसकेको छ । 

महाशिला गाउँपालिका इन्चार्ज दुर्गा गुरुङ चयन भएका छन् । त्यस्तै पैयूँ गाउँपािलका इन्चार्ज जयनारायण तिवारी, सहइन्चार्ज पुर्णपसाद आचार्य, संयोजक काशीराम काफ्ले  रहेका छन् ।

माओवादी केन्द्रको बैठकले सबै स्थानीय तहका सदस्यमा साविकका गाउँ कमिटीका अध्यक्षसहितका पदाधिकारी र सोही तहभित्र रहेको क्षेत्रीय कमिटीका सदस्यहरु स्वतः सदस्य हुने निर्णय गरेको छ । २१ सदस्यीय गाउँ तथा नगरपालिका स्तरीय कमिटि गठन गर्ने निर्णय गरेको छ । केन्द्रले चैत्र मसान्तभित्र गाउँ तथा नगरपालिका स्तरीय कमिटि गठन गरिसक्नुपर्ने निर्णय  गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!