डडेल्धुरामा निर्वाचनप्रति महिला र युवाको जागरुकता

Posted on: 31 Mar, 2017

चैत १८ डडेल्धुरा । स्थानीय निकायको निर्वाचनको समय नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलसँगै महिला र युवा जागरुक भएका छन् ।

स्थानीय तहमा आफ्नो अधिकार सुनिश्चित भएपछि महिला निर्वाचनका लागि अग्रसर भएका हुन् । जिल्लामा पाँच गाउँपालिका र दुई नगरपालिका तथा गाउँ र नगरका वडामा महिला तथा युवा निर्वाचन प्रचारप्रसारमा जुट्नुका साथै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।

पहिलो पटक स्थानीय तहको निर्वाचनमा मत हाल्ने मौका आएको बताउने डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुमी भण्डारी युवालाई उसको क्षमताको आधारमा नेतृत्व दिइनुपर्ने धारणा राख्छिन् ।

स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा चहलपहल बढ्दै गर्दा हरेक पार्टीका गतिविधिमा महिला तथा पहिलो पटक मतदानमा सहभागी हुन गइरहेका युवाको उत्सुकता र सहभागिता बढिरहेको महिला सङ्घ डडेल्धुराका पूर्वअध्यक्ष नारु ओझा बताउँछन् । 

महिलालाई दिएको आरक्षण र पहिलो पटक मतदानमा सरिक हुने अवसर पाएर युवा वर्ग हौसिएको छ। गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुखमध्ये एक पद अनिवार्य महिलालाई दिनुपर्ने भएपछि हरेक राजनीतिक दलबाट महिला उम्मेदवारको खोजी हुन थालेको छ। डडेल्धुरामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत १३ राजनीतिक दलले चुनावी प्रतिस्पर्धा गर्ने निर्वाचन कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!