पर्वत काँग्रेस र एमालेले स्थानीय तहमा संयोजक तोक्यो

Posted on: 01 Apr, 2017

पर्वत । स्थानीय पुर्नसंरचना अनुसार काँग्रेस र एमालेले स्थानीय तहमा संयोजक तोकेका छन् । माओवादी केन्द्रले संयोजक चयन गरी चुनावलाई लक्षित गरी अभियान थालेसँगै यी दुइ ठूला राजनीतिक दलहरुले पनि सोही अनुसार आफ्नो अभियान शुरु गरेका हुन् । आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचनाअनुसार पुनर्गठन कार्य सुरु गरेका छन् । 

नेपाली काँग्रेसले पुर्नसंरचना अनुसार जिल्लामा रहेका २ नगरपालिका र ५ गाउँपालिकामा सोही नगर तथा गाउँपालिमा रहेको केन्द्र र साविक गाउँविकास समितिका पार्टी सभापति नगर तथा गाउँपालिकाको सभापति हुने र अन्य वडामा सदस्य रहने गरी निर्णय गरेको पार्टी सचिव विश्वप्रकाश प्रसाइले जानकारी दिए ।

उनका अनुसार जिल्लामा रहेका नगर तथा गाउँपालिकाको केन्द्र तोकिएको स्थानका पार्टी सभापति नगर तथा गाउँपालिकाको सभापतिमा चयन भएका छन् भने अन्य वडा (साविक गाविस) सभापति सदस्यमा रहेका छन् ।

चुनावलाई लक्षित गरी काँग्रेसले संगठन सुदृढिकरण अन्तर्गत बुधबार बसेको जिल्ला कार्य समितिको वैठकले रिक्त पदपूर्ति गरेको छ । कांग्रेसले १३ औ जिल्ला अधिवेशनपछि मनोनित गर्न बाँकी उपसभापति र सचिव पदमा दुई जनालाई मनोनित गरेको हो । जिल्ला कार्य समितिको बैठकले नेपाली काँग्रेसको उपसभापतिमा दुर्गावहादुर खत्री र सचिवमा युक्तप्रसाद श्रेष्ठलाई मनोनित गरेको छ ।

जिल्ला कार्यसमिति पर्वतले नेपाली काँग्रेसको विधानले व्यवस्था गरे बमोजिम पदाधिकारी मनोनियन गरेको पर्वत काँग्रेसले जनाएको छ ।


नेपाली काँग्रेसका उपसभापति दुर्गावहादुर खत्री र पार्टी सचिव युक्तप्रसाद श्रेष्ठले मनोनित भएपछि प्रतिक्रिया दिंदै पार्टीले आफ्नो क्रियाशिलताको मुल्याङकन गरेको बताएका छन् । उनीहरुले पार्टीले थप जिम्मेदार बनाएको भन्दै अझ प्रभावकारी ढंगले विपी विचारमा आधारित पार्टीको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउन लागि पर्ने बताए ।

पार्टी सचिव विश्वप्रकास प्रसाईले पार्टीले आन्तरीक सुदृढिकरणसंगै सक्षम उमेदवारलाई आगामी निर्वाचनमा उठाउने गरी आन्तरीक गृह कार्य शुरु गरेको बताए । उनले पर्वतका सवै स्थानमा कांग्रेसको जीतलाई सुनिश्चित बनाउन कर्मठ र पार्टीमा योगदान पुराएका नेताहरु मध्येबाट नै उमेदवार बनाउने स्पष्ट समेत पारे ।


यसैविच नेकपा एमाले पनि चुनावलाई लक्षित गरी आफ्नो अभियान थालेको छ । स्थानीय तहको पुर्नसंरचना अनुसार संयोजकको जिम्मा तोकेर जिम्मेवारी बाँडफाँड गरेको नेकपा एमालेका उपाध्यक्ष भक्त कुवँरले बताए । उनका अनुसार  दुई नगरपालिका र पाँच गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकिएको छ ।  बैठकले वरिष्ठ सचिवालय सदस्यको संयोजक र दोस्रो वरिष्ठ सदस्यलाई सहसंयोजक चयन गरेको छ ।

बैठकले कुस्मा नगरपालिकाको संयोजकमा यम गुरुङ्ग र सहसंयोजकमा विष्णु नेवार चयन गरेको छ । यसैगरी, फलेबास नगरपालिकाको संयोजकमा मञ्जु अधिकारी र सहसंयोजकमा पिताम्बर घिमिरेलाई तोकेको छ ।

त्यस्तैगरी, अन्य गाउँपालिकामा क्रमशः जलजला गाउँपालिकाको संयोजकमा लालबहादुर अधिकारी र सहसंयोजकमा टुंगनाथ पौडेल, मोदीको संयोजकमा दाताराम चापागाई र सहसंयोजकमा सेती महत, बिहादी गाउँपालिकामा संयोजकमा लालबहादुर गुरुङ्ग र सहसंयोजकमा कमल भुसाल, महासिला गाउँपालिकामा संयोजक ईश्वरी भुसाल र सहसंयोजक बिष्णुराम बिक चयन गरेको छ । 

त्यस्तै, पैयँु गाउँपालिकाको संयोजकमा उमाकान्त सुवेदी र सहसंयोजकमा रेशमलाल न्यौपाने चयन भएका छन् । फलेबास नगरपालिकामा मन्जु अधिकारी संयोजक र पिताम्वर घिमिरे सहसंयोजक रहेका छन् । सबै स्थानीय तहका सदस्यमा साविकका गाउँ कमिटीका अध्यक्षसहितका पदाधिकारी र सोही तहभित्र रहेको क्षेत्रीय कमिटीका सदस्यहरु स्वतः सदस्य हुने निर्णय गरेको छ । एमालेले स्थानीय तहको चुनावका लागि एकहजार १११ सदस्यीय चुनाव परिचालन कमिटी पनि गठन गरेको बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!