सिन्धुलीमा २८ हजार मतदाता थपिए

Posted on: 04 Apr, 2017

चैत २२, सिन्धुली । सिन्धुलीमा २८ हजार मतदाता बढेको छ । 

अहिले जिल्लामा मतदाताको सङ्ख्या १ लाख ६८ हजार २ सय ४७ पुगेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । अघिल्लो संविधान सभाको चुनावमा सिन्धुलीमा १ लाख ४० हजार मतदाता रहेका थिए । 

अबको स्थानीय तहको निर्वाचनमा ८५ हजार ३ सय ९ पुरुष र ८२ हजार ९ सय ३८ जना महिलाले मतदान गर्न पाउने भएका छन् । 

सिन्धुलीमा २ नगरपालिका र ७ गाउँपालिका भएपनि निर्वाचन आयोगले मतदान स्थलका लागि नामावली नपठाउँदा कुन मतदान केन्द्रबाट कतिले मतदान गर्नेछन् भन्ने विवरण नआएको कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले अद्यावधिक गरिएको मतदाता नामावलीको सूची कार्यालयमा पठाएको निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । अहिले थप भएर आएका मतदाताहरुले विवरण त्रुटि भएमा सच्याउन नपाउने निर्वाचन अधिकारी जोशीले बताउनुभयो । 

उहाँका अनुसार निर्वाचन कार्यालयले यस अघि विभिन्न समयमा मतदाता नामावली प्रकाशन गरेको र त्यस बखत त्रुटि सच्याउन नआउनेको अहिले सच्याउन सकिँदैन । 

यस्तै, सिन्धुलीमा वैशाख १ गतेदेखि नै गाउँ गाउँमा मतदाता कक्षा सञ्चालन गरिने भएको छ । नव वर्षको पहिलो दिनदेखि नै मतदाता कक्षा सञ्चालन गर्ने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको योजना छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!