बाग्लुङ्गमा उम्मेदवार छान्दै दलहरु (को-को चर्चामा छन्)

Posted on: 11 Apr, 2017

(रामबहादुर थापा) | चैत २९, बागलुङ | स्थानीय तहको निर्वाचन आउन करिब एक महिना बाँकी रहँदा दलहरु उम्मेदवार छनोटमा लागेका छन् । 

टिकटका लागि आफ्नै दलभित्र लड्नुपरेको उम्मेदवारका आकाङ्क्षीहरु बताउँछन् । एउटै दलबाट प्रमुख पदमा उम्मेदवारी दिनेको सङ्ख्या अत्यधिक रहेको छ । वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलहरुले जनाएका छन् । 

दलहरु उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । गाउँपालिकाको तुलनामा नगरपालिकाको नेतृत्व ताक्नेको सङ्ख्या बढी छ । जिल्लाका १० स्थानीय तहमध्ये चार नगरपालिकामा प्रमुख÷उपप्रमुख को बन्ने भन्ने विषयले चर्चा पाएको छ । उम्मेदवार बन्ने आकाङ्क्षीको होडबाजी अत्यधिक छ । 

उम्मेदवारी सुनिश्चित गर्न आकाङ्क्षीको केन्द्रसम्मै दौडधुप सुरु भएको छ । बागलुङ नगरपालिकाको नगर प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट वसन्तकुमार श्रेष्ठ, पार्टी सभापति दीपेन्द्रबहादुर थापा, जगदीशचन्द्र उपाध्याय, किरण पौडेल, शकुन्तला शर्मा, महेन्द्र आचार्य, चिरञ्जीवी गौतम, पार्वती आचार्य, नारायण पौडेललगायतको चर्चा छ । 

यस्तै नेकपा (एमाले)बाट जनक पौडेल, मनकुमारी केसी, कृष्ण पाठकलगायतको नाम चर्चामा छ । नेकपा (माओवादी केन्द्र)बाट निर्मल श्रेष्ठ, यज्ञबल्लभ शर्मा, कुमारविक्रम क्षेत्रीलगायतको चर्चा छ । राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बाँस्कोटा, थानेश्वर सुवेदीलगायत नगर प्रमुखका लागि आकाङ्क्षी देखिएका छन् । 

गलकोट नगरपालिकाको नगर प्रमुखका लागि काँग्रेसबाट फमबहादुर खत्री, मञ्जेशबम मल्ल, मञ्जु शर्मालगायत आकाङ्क्षी छन् । नेकपा (एमाले)बाट कुलबहादुर केसी, डम्बर श्रीसलगायतको चर्चा छ । नेकपा (माओवादी केन्द्र)बाट ज्ञामनाथ गैरे, तिलक उप्रेती, फमलाल निउरे, राजबहादुर थापालगायत आकाङ्क्षी छन् भने राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकीको चर्चा छ । 

यस्तै जैमुनी नगरपालिकाको नगर प्रमुखमा काँग्रेसबाट नवराज पौडेल, भीम श्रीस, हरिहर शर्मा, हरि आचार्य, गीता रेग्मी, इन्द्रराज पौडेल, दुर्गादत्त आचार्य लगायतको दाबी छ । नेकपा (एमाले)बाट श्रीप्रसाद शर्मा, भूपाल चालिसे, सावित्रा रानालगायतको नाम चर्चामा छ । नेकपा (माओवादी केन्द्र)बाट लालबहादुर परियार, सकसबहादुर क्षेत्री, शोभा शर्मालगायत आकाङ्क्षी छन् । राष्ट्रिय जनमोर्चाबाट नरबहादुर पुन चर्चामा छन् । 

पश्चिम ढोरपाटन नगरपालिकाको नगर प्रमुखका लागि काँग्रेसबाट धीरप्रतास सिंह, अर्जुन शेरचन, मेखलाल शर्मालगायतको चर्चा छ । नेकपा (एमाले)बाट लक्ष्मण पुन, गोकुल शेरचन, टङ्क पौडेललगायत छन् । नेकपा (माओवादी केन्द्र)बाट चन्द्र अर्याल, शेरमान घर्ती, तुलसी अर्याललगायत आकाङ्क्षी छन् । राष्ट्रिय जनमोर्चाबाट टेकबहादुर घर्ती, गौरीश्वर पाण्डेयलगायतको दाबी रहेको छ । 

आकाङ्क्षी बढी भएपछि दलहरु सम्भावितको सूची तयार पार्न लागिपरेका छन् । दलहरुलाई उम्मेदवार छनोटको सम्पूर्ण निर्णय जिल्लामै गर्न कठिन भएको छ । कतिपय दलले प्रदेशस्तरबाट र कतिपयले केन्द्रबाटै उम्मदेवारको टुङ्गो लगाउने भएका छन् । काँग्रेसले वैशाख ५ गतेभित्रै सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाउने जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले बताउनुभयो । 

यस्तै वैशाख ४ गतेभित्रै गाउँ र नगर दुवैको प्रमुख पदका सम्भावित उम्मेदवारको सूची प्रदेशमा पठाउने तयारीमा नेकपा (एमाले) छ । नेकपा (माओवादी केन्द्र)ले आउँदो वैशाख ७ गतेभित्र सबै वडा, गाउँ र नगरका उम्मेदवार छान्ने जनाएको छ । जिल्ला इञ्चार्ज चन्द्रबहादुर बुढाका अनुसार केन्द्रले सबै पदमा एकल उम्मेदवारी दिने निर्णय गरेको छ । 

राष्ट्रिय जनमोर्चाले भने गाउँपालिका र नगरपालिकाका प्रमुख पदमा केन्द्रबाटै उम्मेदवार छनोट गर्ने जनाएको छ । वडाका उम्मेदवार भने स्थानीय समन्वय समितिले नै छनोट गर्ने जनमोर्चाले जनाएको छ । नगरपालिकासँगै गाउँपालिकामा पनि उम्मदेवारका आकाङ्क्षी बढ्दै गएका छन् । जिल्लामा छवटा गाउँपालिका रहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!