पाँचथरमा उम्मेदवारको आकाङ्क्षी बढे

Posted on: 12 Apr, 2017

चैत ३०, पाँचथर ।स्थानीय तहको मिति नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा निर्वाचनको चर्चासंगै मुख्य दलमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार तय गर्न लागिपरेका छन् ।सम्भावित उम्मेदवारका विषयमा दलभित्र बहस र चलिरहेको छ । 

नेताहरु पार्टीबाट उम्मेदवारको टिकट पाउन पार्टी कमिटीदेखि शक्ति केन्द्रसम्म धाइरहेका छन् । सर्वाधिक चर्चाको रहेको फिदिम नगरपालिकामा आउँदो निर्वाचनका लागि २७ हजार एक सय ८१ मतदाता छन् । 

जिल्लाको कुल जनसङ्ख्याको करिब एक चौथाई जनसङ्ख्या रहेको सो नगरपालिकामा १३ हजार ९४३ पुरुष र १३ हजार २३८ महिला मतदाता छन् । फिदिममा एक प्रमुख, एक उपप्रमुख, १४ वडामा १४ वडाध्यक्ष र ५६ वडा सदस्य गरी ७२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

साबिकको फिदिम नगरपालिका, लुम्फाबुङ, नांगिन, रानीटार र लुङरुपा गाविस तथा याङनाम गाविसका १ देखि ५ सम्मका वडा समेटिएको फिदिम नगरपालिकाको प्रमुखमा दलहरुभित्र धेरै आकाङ्क्षी देखिएका छन् । दललाई प्रमुख, उपप्रमुख छनौट गरेर उम्मेदवारी घोषणा गर्न कठिन परिरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!