काभ्रेमा राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

Posted on: 18 Apr, 2017

बैशाख ५, बनेपा | मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ । 

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा धेरै समय लागेको बताएका छन् । 

गाउँगाउँमा चुनावी माहोल बनिरहेको र जनतामा पनि उत्साह थपिएको वर्तमान अवस्थामा नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र, राप्रपालगायतले चुनावका लागि सम्पर्क कार्यालय स्थापना गरे पनि दर्जनाँै पटक बसेका बैठकले पनि स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको निर्णय गर्न सकेका छैनन् । 

दलले उम्मेदवारको विषयमा आन्तरिक गृहकार्य भइरहेको दाबी गर्दै वडा तहमा ८५ देखि ९० प्रतिशतसम्म उम्मेदवारको टुङ्गो लागेको बताएका छन् । 

नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले स्थानीय निकायमा लामो समयको रिक्तताले पार्टीमा सन्तुलन गर्न गाह्रो महसुस भएको उल्लेख गर्दै नियमित चुनाव हुन सकेको भए अहिलेको अवस्था आउने थिएन भन्नुभयो । 

उहाँले अहिलेको निर्वाचनका लागि पुस्तान्तरणको समस्या देखिएको छ भन्नुहुदैँ अब पार्टीभित्र निश्चित मापदण्ड तय गरेर यही ७ गतेसम्म स्थानीय तहको नेतृत्व टुङ्गो लाग्ने बताउनुभयो । 

माओवादी केन्द्र काभ्रेपलाञ्चोकका अध्यक्ष दिनानाथ गौतमले स्थानीय निकायको लामो समयको रिक्ततापछि चुनाव भएकाले उम्मेदवारका आकांक्षी धेरै भएको उल्लेख गर्दै नयाँ संरचनाको अधिकार र कार्य क्षेत्रले पनि व्यक्तिगत आकांक्षा बढेको बताउनुभयो । 

उहाँले निर्वाचनमा स्थानीय आवश्यक्ताअनुसार जिल्लामा कार्यगत एकताको पनि सम्भावना रहेको उल्लेख गर्दै यही ९ गते स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लाग्ने बताउनुभयो । 

नेकपा (एमाले) काभ्रेपलाञ्चोकका सचिव हरिशरण दाहालले मुलुकमा आवधिक निर्वाचन नभएका कारण उम्मेदवारको आकांक्षी धेरै भएको उल्लेख गर्दै आज बेलुकासम्म उम्मेदवारको टुङ्गो लाग्ने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो – तीन पुस्ता नै अहिलेको चुनावमा होमिएको छ । जिल्ला निर्वाचन कार्यालय, धुलिखेलमा दर्ता भएका २५ राजनीतिक दलमध्ये काभ्रेपलाञ्चोकबाट ११ वटा दल संसद्मा प्रतिनिधित्व गर्छन् । जिल्लाको पुनःसंरचना अनुसार काभ्रेपलाञ्चोकमा सात गाउँपालिका र छ नगरपालिका छन् । 

दुई लाख ३० हजार ८४९ मतदाता रहेको काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थलमा ३०७ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका अधिकृत मधुकर पोखरेलले जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!