अपहरणमा परेका नेपाली काँग्रेस म्याग्दीका उम्मेद्वार पुन सकुशल रिहा

Posted on: 02 May, 2017

वैशाख १९, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार राति सकुशल रिहाइ भएका छन् ।

भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहेका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए ।

चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागेपछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। “शङ्कास्पद ठाउँका चारवटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए”, प्रजिअ पौडेलले भने, “संलग्न व्यक्तिको खोजी जारी छ ।”

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव प्रभावित गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नबाट वञ्चित गराउने नियतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाएका थिए।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पुनलाई वडाध्यक्षको उम्मेदवार चयन गरेको थियो । चढेर आएको गाडी बिग्रिएपछि हिँडेर बेनी आउँदै गर्दा पुन अपहरणमा परेका थिए। रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!