एमालेले काठमाडौँ र ललितपुरको उम्मेदवार चयन गर्यो

Posted on: 02 May, 2017

बैशाख १९, काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका १० नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । 

पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहितका नेताबीच आज सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको परामर्शबाट काठमाडौँ महानगरपालिका प्रमुखमा विद्यासुन्दर शाक्यलाई चयन गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । यस्तै ललितपुर महानगरपालिका प्रमुखमा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उठाउने भएको छ । दुवै महानगरका उपप्रमुखमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्नेछ । 

यस्तै कागेश्वरी मनहरा नगरपालिका प्रमुखमा कृष्णहरि थापा र उपप्रमुखमा विन्दु सिंखडा, गोकर्णेश्वर प्रमुखमा पुण्य चौलागाईं र उपप्रमुखमा शान्ति श्रेष्ठ, टोखा प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमाया डङ्गोल, तारकेश्वर प्रमुखमा रामकृष्ण बोहोरा र उपप्रमुखमा भानु डोटेल, दक्षिणकाली प्रमुखमा प्रह्लाद कार्की र उपप्रमुखमा लिसा नकर्मी, बूढानीलकण्ठ प्रमुखमा उद्धव खरेल र उपप्रमुखमा रमा राई, नागार्जुन प्रमुखमा कृष्णहरि खत्री र उपप्रमुखमा सुशीला अधिकारी, शङ्खरापुर प्रमुखमा सुवर्ण श्रेष्ठ र उपप्रमुखमा शुक्रलक्ष्मी श्रेष्ठ, चन्द्रागिरि प्रमुखमा शशि शर्मा अर्याल र उपप्रमुखमा मीरा आचार्य महर्जन तथा कीर्तिपुर प्रमुखमा रमेश महर्जन र उपप्रमुखमा सरस्वती खड्का उम्मेदवार बन्नुभएको छ । 

एमालेका काठमाडौँ जिल्ला इन्चार्ज सावित्रा भुसालले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी सम्बन्धमा पार्टीका शीर्ष नेताहरुले केहीबेरपछि निर्णय दिने बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!