विप्लव माओवादीका कार्यकर्ताहरु धमाधम पक्राउ पर्दै

Posted on: 08 May, 2017

बैशाख २५, बनेपा | प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकतामाथि निगरानी बढाएपछि धमाधम पक्राउ गर्न थालेको छ । 

आइतबार प्रहरीले धुलिखेलबाट थप दुई कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–११ का कान्छा लामा र धुलिखेलकै रमेश परियार रहेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । दुवै जना नेकपा, काभ्रेपलाञ्चोकको जिल्ला सदस्य हुन् । 

यसअघि शुक्रबार मात्रै दुई कार्यकर्तालाई मण्डनदेउपुर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्लामा करिब १०० जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखिएको प्रनाउ राईले जानकारी दिनुभयो । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!