चुनावको मुखमा पाइप बितरण गर्दै एमाले, आचारसंहिता विपरीत चुनावी प्रचार

Posted on: 10 May, 2017

बैशाख २७, पर्वत नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्दै गरेको अवस्थामा प्रहरीले मंगलबार पाइप नियन्त्रणमा लिएको छ ।

चुनावको मुखमा उम्मेदवारले मत प्रभावित पार्नका लागि लगेको भन्दै सुचनाको आधारमा प्रहरीले ग१ज २५७८ नम्बरको बोलेरो जीपसहित पाइप नियन्त्रणमा लिएको हो । ‘चुनावलाई लक्षित गरेर एमालेले बितरण गरेको पाइप भएको ठम्याइसहित प्रहरीलाई खबर गरेका थियौ’ कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका अर्जुन क्षेत्रीले भने । सारथी न्यूजले खबर लेखेकाे छ ।

कुश्मा–८ का राजु सुबेदीले आफ्नो घर प्रयोजनका लागि पाइप कुश्माबाट ल्याएको दाबी गरे । उनले आफ्नो घरमा ल्याउने योजनाको प्रयोजनका लागि दाबी गरेपनि उनको घरमा पहिले नै पानीको धारा आइपुगेको छ । उनले पाँच सय मिटर पाइप ल्याएको बताएपनि जीपमा २० एमएमको पाँच क्वाइल पाइप भेटिएको छ । २० एमएमको पाइपमा प्रति क्वाइल तीन सय मिटर हुन्छ । त्यसले पनि सुवेदीले हतारमा बोलेको पाइएको छ ।

सुवेदीले कुश्माको बिशाल हार्डवयरबाट किनेर ल्याएको बताएपनि उनीसँग खरिद बिल देखाउन मानेनन् । अन्त्यमा प्रहरीले जीपसहित पाइप जिल्ला प्रहरी कार्यालयमा लगेपछि हतार–हतार बडागाउँस्थित बिशाल हार्डवयरमा पुगेर पाँच सय मिटर पाइपको बिल बनाएका थिए । पछि सुवेदीले पाँच सय मिटर पाइपको बिल प्रहरीमा बुझाएपछि छाडिएको थियो । जीपमा एक हजार पाँच सय मिटर पाइप रहेपनि पाँच सय मिटरको बिल ल्याएर प्रहरीले छाडेपछि घटना थप रहस्यमय भएको छ ।

http://sarathinews.com/wp-content/uploads/2017/05/

जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालले जीपमा पाइप लग्दै गरेको अवस्थामा एमाले र काँग्रेस पक्षबिच बिवाद भएपछि नियन्त्रणमा लिएर कागजात ल्याएपछि कसैलाई बितरण नगर्ने सर्तमा छाडिएको बताए । सुबेदीले एमालेका उम्मेदवारबाट पाइप गाउँमा बितरणका लागि लैजादै गर्दा आफुहरुले प्रहरीलाई उजुरी गरेको कुश्मा–८ का वडा अध्यक्षका उम्मेदवार राजकुमार क्षेत्रीले बताए । पाइप गाउँतर्फ लैजाने राजु सुवेदी हालै एमालेमा प्रवेश गरेका हुन । उनलाई नेकपा एमालेले गाउँमा मत प्रभावित पार्नका लागि बितरण गर्नका लागि पाइप दिएको स्रोतले बताएको छ ।

उता स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समिति पर्वतका संयोजक बिष्णु खरेलले आचारसंहिताबिपरित मतदातालाई प्रभावित पार्ने काम भएमा कारबाही हुने जानकारी दिए । निर्वाचन नजिकिदै गर्दा आचारसंहिता बिपरितका गतिविधि बढ्न थालेको छ । दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताबिपरित बाइक ¥याली, बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्मबाहेकको समयमा माइकिङ गर्ने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!