दैलेखको छ तहको अन्तिम परिणाम सार्वजनिक

Posted on: 17 May, 2017

जेठ ३, दैलेख | दैलेखका ११ वटा स्थानीय तहमध्ये छ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

टाँठीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासनी नगरपालिका, महावु गाउँपालिका, डुङ्ग्रेश्वर गाउँपालिका र नारायण नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । 

नारायण नगरपालिका, महावु गाउँपालिका र भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेले बाजी मारेको छ । नेपाली काँग्रेस डुङ्ग्रेश्वर गाउँपालिकामा विजयी भएको छ । 

नारायण नगरपालिकाको प्रमुखमा एमालेका रत्नबहादुर खड्का र उपप्रमुखमा सावित्रा मल्ल क्रमशः चार हजार ७२५ मत र चार हजार ८६६ मतसहित विजयी हुनुभएको हो । 

यस्तै, महावु गाँउपालिका एमालेका अध्यक्ष पदका उम्मेदवार जङ्गबहादुर शाही र उपाध्यक्षमा प्रेमकुमारी बुढा क्रमशः तीन हजार ५२२ र तीन हजार ८०८ मतसहित विजयी हुनुभयो । 

भैरवी गाउँपालिकामा पनि एमालेका प्रेमबहादुर बुढा र उपाध्यक्षमा पदम विष्ट क्रमशः तीन हजार ५८४ मत र तीन हजार ४७८ मत सहित विजयी हुनुभएको छ । 

यसैगरी, डुङ्ग्रेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र मल्ल र उपाध्यक्षमा सीता ज्ञवालीले क्रमशः दुई हजार ७८७ र दुई हजार ६२८ मतसहित विजयी हुनुभएको छ । 

चामुण्डा विन्द्रासैनी नगरपालिकाको अध्यक्षमा एमालेका सूर्यबहादुर शाही र उपाध्यक्षमा ताराकुमारी शाहीले क्रमशः दुई हजार ७१३ मत र दुई हजार ९५४ मतसहित विजयी हुनुभएको छ । 

टाँठीकाँध गाउँपालिकामा एमालेका धीरबहादुर शाही एक हजार ९२४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा सुम्मिता सिंह एक हजार ९७८ मत प्राप्त गरेर विजयी हुनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!