विमल बने जिल्लाकै कान्छा वडाध्यक्ष

Posted on: 22 May, 2017

राजनीतिमा जसले धेरै समय त्याग र योगदान गरेको छ, त्यस्ता कार्यकर्ता वा नेतालाई अवसर दिने चलन छ । मतदाताले पनि अनुभवीलाई नै बढी विश्वास गरिरहेका छन् । तर, मोदी गाउँपालिका–६ तिलाहारका विमल लामिछानेमा यो कुरा लागू भएन । उनी जिल्लाकै कान्छा वडाध्यक्षमा निर्वाचित भएका छन् । ०४७ सालमा जन्मिएका लामिछाने २६ वर्षको उमेरमै वडा नं। ६ को अध्यक्ष बनेका हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर तहमा अध्ययनरत लामिछाने एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । जोस र जाँगर भएको युवाले गाउँमा केही परिवर्तन गर्न सक्छ भन्ने ठानेरै आफूलाई स्थानीयले विजयी गराएको उनले प्रतिकृया दिए ।


जितपछि राज्यबाट आफूले पाउने सेवा सुविधा स्थानीय नागरिकको विकासका लागि खर्चिनेसमेत उनले प्रतिबद्धता जनाएका छन् । वडाको कुल २१ सय ८ मध्ये विमलले १२ सय ४९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ठक्करप्रसाद शर्माले पाँच सय ११ मत पाए । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

उनी एमालेनिकट युवा संघ पर्वतका अध्यक्ष पनि हुन् । त्यस्तै, एमाले पर्वतका जिल्ला कमिटी सदस्य तथा जिल्ला युवा परिषद् अध्यक्ष हुन् । आफूले सानैदेखि जिल्लामा विभिन्न कामका लागि गरेको योगदानको कदर भएकाले निकै उत्साहित बनेको उनले बताए ।

http://www.enayapatrika.com/wp-content/uploads/2017/05/

वडाको विकासका लागि उनले योजना पनि बनाएका छन् । तिलाहारमा रहेका विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न, स्वास्थ्य सेवाको पहुँच सबै नागरिकलाई पु¥याउन, साबिकका सबै वडा तथा टोलमा पक्की सडक पु¥याउनका लागि यसै सातादेखि काममा जुट्ने उनले बताए । स्थानीयस्तरका कृषि, पशुपालन, माछापालन, तरकारी खेतीलगायतका सम्भावनाको खोजी गरी सहुलियतमा ऋण तथा तालिम प्रदान गर्ने उनको योजना छ ।


युवाको क्षमता तथा नेतृत्व विकास, भौतिक पूर्वाधारको विकास निर्माण र व्याक्तित्व विकासमा निरन्तर लागिरहने उनले अठोट गरेका छन् । ‘जुन हिसाबले आमजनताले मलाई मत दिएर विजयी गराए, त्यही हिसाबले मेरो दिनप्रतिदिन सक्रियता बढ्दै जानेछ,’ उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!