भोजपुरमा माओवादी केन्द्रको प्यानलै विजयी

Posted on: 29 Jun, 2017

असार १५, भोजपुर । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । 

रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । 

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको हो । 

नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । 

तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ । थोरै मत खसेकोले तीन दिन भित्रमा मतपरिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी गराउनुभएको छ । 

यसैबीच, भोजपुरको पौवादुम्मा गाउँपालिका–६ मा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको पाइएपछि मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा ६ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएपछि बुधबार बेलुका १२ बजेदेखि सुरु भएको मतगणना अवरुद्ध भएको हो । 

यसैगरी, भोजपुर नगरपालिकाको मतगणना पनि भर्खरै सुरुभएको छ । 

भोजपुरमा बुधबार भएको मतदान ६१ प्रतिशत भनी प्रचारप्रसार भएता पनि यथार्थमा ६६.३१ प्रतिशत मत खसेको जिल्लाका मुख्य निर्वाचन अधिकारी प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!