यस्तो छ सुनसरीको पछिल्लो मत परिणाम

Posted on: 01 Jul, 2017

असार १७, इटहरी । सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ । 

इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता दिनुभएको छ । 

नेकपा (एमाले)का प्रमुखका उम्मेदवार द्वारिकलाल चौधरीले दुई हजार चार सय ९३तथा उपप्रमुखक उम्मेदवार लक्ष्मी गौतमले दुई हजार चार सय १३ मत ल्याउनुभएको छ । इटहरी–१ मा काँग्रेसका विष्णु चौधरीको समूहले विजय प्राप्त गरिसकेको छ । 

यसैगरी धरानमा प्रमुखका उम्मेदवार तिलक राईले एक हजार आठ सय ३९ र उपप्रमुखका उम्मेदवार श्यामा रेग्मीले एक हजार आठ सय २९ मत प्राप्त गरी अग्रस्थान ओगट्नु भएको छ । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार तारा सुब्बाले एक हजार पाँच सय ६६ र उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले एक हजार छ सय ६३ मत ल्याई काँग्रेसलाई पछ्याइरहनुभएको छ । धरान–१ बाट काँग्रेसका रोशन अधिकारी र २ बाट माधवगोविन्द श्रेष्ठको समूह नै विजयी भएको छ । 

त्यस्तै दुहवी नगरपालिकामामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदारले दुई हजार चार सय ९८ र उपप्रमुखका उम्मेद वार सुनिता दाहाल शाहले दुई हजार चार सय ५२ मतसहित अग्रता कायम गरिरहनुभएको छ । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार विनय पोख्रेलले दुई हजार दुई सय ३४ र उपप्रमुखका उम्मेदवार चन्द्रकला विश्वासले दुई हजार चार सय ५७ मत ल्याउनुभएको छ । दुहवी –१२ बाट भने काँग्रेसका खुसीलाल चौधरीले वडाध्यक्षसहित सबै सदस्य पदमा विजय प्राप्त गर्नुभएको छ । 

त्यस्तै रामधुनी नगरपालिकामा पनि काँग्रेसका प्रमुख जयप्रकाश चौधरीले दुई हजार ७२ र उपप्रमुख विजया कटवालले एक हजार पाँच सय तथा एमालेका नन्दकुमार बस्नेतले एक हजार दुई सय ७० र उपप्रमुख सविना चौधरीले एक हजार पाँच सय २१ मत ल्याउनुभएको छ । रामधुनी नगरपालिका–१ बाट काँग्रेसका महेश चौधरीले वडाध्यक्षसहित सबै पदमा विजय प्राप्त गरिसक्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । 

बराह र इनरुवा नगरपालिकामा पनि काँग्रेसले अग्रता लिइरहेको सुनसरीका प्रजिअ गोपालप्रसाद गुरागाईंले जानकारी दिनुभयो । गाउँपालिकाको मतगणनाको नतिजा सार्वजनिक हुन ढिलाइ भइरहेको बताइएको छ । कतिपय निर्वाचन अधिकृतले सूचना दिने कार्यमा कन्जुस्याइँ गरिरहेको प्रति गुनासो बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालयले समेत सूचना नपाएको निर्वाचन अधिकृत जानकी कर्णले गुनासो गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!