स्थानीय विकास अधिकारी भन्छन्, 'म आफ्नै कर्मचारीबाट असुरक्षीत छु'

Posted on: 09 Jul, 2017


नन्दराम जैशी/असार २५, जुम्ला । जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण वेलबासेले जिल्ला समन्वय समितिभित्रका कर्मचारीहरुबाटै आफु असुरक्षीत भएको खुलाशा गर्नुभएको छ । समन्वय समिति भित्रका केहि कर्मचारीको निहित स्वार्थलाई आफुले पुरा गर्न नसकेपछि सहकर्मि कर्मचारीहरुबाटै आफु असुरक्षीत भएको उहाले बताउनुभयो । उहाँले भन्नुभयो, म मातहतका कर्मचारीहरुले जे मुखमा आँउछ त्यो तथानाम गाली गर्ने गर्छन् । म आफ्नै कर्मचारीहरुबाट असुरक्षित भएपछि मेरो दैनिक कार्य सम्पादनमा समस्या भएको छ । समन्वय समितिका कर्मचारीले आफुलाई चाहिएको सामानहरु जुनसुकै पसलबाट लिने अभ्यास थियो, त्यसलाई मैले रोक्न खोज्दा आफु असुरक्षित भएको महशुस भएको छ, बेल्वासेले भन्नुभयो । 

जुम्लाका विभिन्न पसल, होटलहरुबाट अनाआवाश्यकका बिलहरु आउँदा आफुले रोक्न खोजेको र त्यसको विरुद्धमा समन्वय समितिका केहि कर्मचारीहरुबाटै आफु माथि धम्की आएको समेत उहाँले गुनासो पोख्नुभयो । 

म आवाश्यक बिना खर्च हुने प्रशासनिक खर्च नियन्त्रण गर्न लागेको हुँ, तर विगत देखि मनपरि गर्दे आएका कर्मचारीको लागि असह्य भएको छ । समन्वय समितिका कर्मचारीहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्नको लागि अनेक हतकण्डा प्रयोग गरेको उहाको बुझाइ छ । आफु माथि पटक–पटक हातपात हुन खोजेको भन्दै उहाँले आफुले प्रयोग गरेको धारा बन्द गर्ने देखि लिएर क्वाटरबाट धपाउन खोज्ने जस्ता अनैतिक क्रियाकलाप गरेको स्थानिय विकास अधिकारी बेल्वासेले बताउनुभयो । 

आफु माताहतका कर्मचारीबाट विश्वास नभएका कारण सुरक्षा लिएको छु र आफै खाना पकाएर खाने गरेको छु उहाँले भन्नुभयो । समन्वय समिति भित्रका उपकरण खरिद र अस्वभाविक रुपमा तालिमका लागि रकम खर्च भएको हुने गरेको छ । कार्यालय भित्रको खर्च घटाउन खोज्दा आफुमाथि हातपात हुन खोज्यो, आफै सचेत भएकाले घटना हुन पाएन । कार्यालय भित्र अराजक क्रियाकलाप भएका छन, यसलाई कम गर्नको लागि रोक्ने प्रयास गरे तर, संभव भएन । उहाँले भन्नुभयो, ड्रिलिप प्रोजेक्टका मोटरसाइकहरु व्यक्तिका घरमा काठमाण्डौँतिर छन, त्यसको विवरण कर्मचारीलाई देउ भन्दा कसैले मानेका छैनन् । 

वैशाख महिनाबाट ड्रिलिप प्रोजेक्ट सकिएको छ र त्यहाँ भएका सामानहरु व्यक्तिको घरमा पुगेका छन् । चिसो समयमा प्रयोग गर्नको लागि समन्वय समितिबाट वर्षमा १० वटा ग्यास चुलो खरिद हुने गर्दछन् । तर ती चुलोहरु कार्यालयमा नरहेको र कसले कँहा लिन्छन् पत्तो हुदैन । 

साविकको जिल्ला विकास समिति जुम्लालाई जसरी दुहुन सकिन्छ, त्यसरी खानु पर्छ भन्ने मान्यता बोकेका छन् । त्यसैमा पनि यदि एलडियोले अवरोध गरेमा तह लगाउनु पर्छ भन्ने मान्यता कर्मचारीहरुको रहेको उहाँले बताउनुभयो । आफुले चालेको प्रत्येक कदममा चुनौति रहेको बताउँदै बेल्वासेले एक्लै चाहेर केहि पनि गर्न नसकिने तर्कगर्नुभयो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!