तेह्रथुममा जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

Posted on: 20 Jul, 2017

साउन ५, तेह्रथुम । तेह्रथुममा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुने भएको छ । 

जिल्ला समन्वय समितिको आयोजनामा बसेको जिल्ला सभाले ९ सदस्यीय जिल्ला समन्वय समितिको गठन गर्ने निर्णय गरेको हो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा १२ जना जिल्ला सभाका सदस्यहरु रहेका छन् । 

हरेक गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखहरु जिल्ला सभाको सदस्य रहने कानुनी व्यवस्था रहेको छ । जिल्लामा नेकपा एमालेले ५ प्रमुख र ४ उपप्रमुख पद जितेको छ भने नेपाली कांग्रेसले एक प्रमुख र दुई उपप्रमुख जितेको छ । यसरी हेर्दा जिल्ला समन्वय समिति नेकपा एमालेले एकलौटी रुपमा गठन गर्ने स्पष्ट बहुमत जुटाएको छ । 

समन्वय समिति ९ सदस्यीय रहने सहमतिको निर्णय गरी पठाइएको र निर्वाचन आयोगको निर्देशन प्राप्त भइसकेपछि समितिको निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । यसअघि सबै नगरपालिका र गाउँपालिकाको नगर तथा गाउँ कार्यपालिका गठन भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रत्यक्ष निर्वाचित २ सय २७ र सम्बन्धित नगर तथा गाउँसभाबाट निर्वाचित दलित तथा अल्पसंख्यक समुदायका १४ गरी जिल्लामा निर्वाचित जनप्रतिनिधिको संख्या २ सय ४१ पुगेको छ । जिल्लामा असार १४ गते भएको स्थानीय चुनावमा ८५ मतदान केन्द्रबाट  ६० हजार ७ सय २१ जनाले मतदान गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!