लिम्बुवान बन्दले पुर्वका नौ जिल्लाको जनजीवन प्रभावित

Posted on: 06 Aug, 2017


साउन २२, तेह्रथुम । अरुण पुर्वका नौ जिल्ला लिम्बुवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आइतबार आह्वान गरेको वन्दका कारण यी जिल्लाको जनजीवन प्रभावित भएको छ । 

परिषदको बन्दका कारण पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् । प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । 

साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आइतबारका लागि नौ जिल्ला बन्दको आव्हान गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यवद्धता जनाएको छ । 

१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!