तेह्रथुमका महिला जनप्रतिनिधि सम्मानित

Posted on: 06 Aug, 2017


प्रकाश धौलाकोटी/साउन २२, तेह्रथुम । तेह्रथुममा जिल्ला महिला सञ्जालले स्थानीय तहको चुनावमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ । 

महिला अधिकारको क्षेत्रमा काम गर्दा गर्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएका महिलाहरुलाई सन्जालले सम्मान गरेको हो । सञ्जालले सदरमुकाम म्याङलुङ्गमा शनिबार आयोजना गरेको ग्रामीण महिला नीति तथा महिलामैत्री विकास सम्बन्धी गोष्ठीमा जिल्लाका महिला जनप्रतिनिधिलाई सांसदद्धय भवानीप्रसाद खापुङ र अन्जना ताम्लीले अविर जात्रा गर्दै ढाकाको खादा ओढाएर सम्मान गर्नुभयो । 

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अब हुने विकास निर्माणका गतिविधिहरु महिलामैत्री हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एक्सनएड नेपालका मालती मास्केले ग्रामीण नीति र यसका सम्बन्धमा भइरहेका प्रयासहरुबारे एक कार्यपत्र तथा दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले महिलाहरुले गरिरहेको पारिश्रमिक विनाको कामको सम्बन्धमा गरिएको अध्ययनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


सहभागीले सांसदद्धयलाई ग्रामीण महिला नीति निर्माणका लागि संसदमा विशेष निर्वाह गरिदिन माग गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि सांसद भवानीप्रसाद खापुङ, सांसद अन्जना ताम्ली, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला, गैरसरकारी संस्था महासंघका अध्यक्ष अनुभूतिबम नेपाली लगायतले बोलेको थिए ।

कार्यक्रम एक्सनएड नेपाल, दलित सचेतना समाज र देउराली सोसाइटीको सहयोगमा महिला सन्जालले आयोजना गरेको हो । कार्यक्रम जिल्ला महिला सन्जालका अध्यक्ष कमला दर्नालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!