सप्तरीमा छ हजार सुरक्षाकर्मी परिचालन

Posted on: 08 Sep, 2017

भदौ २३, सप्तरी । प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको बताइएको छ । 

त्यस्तै दुई हजारभन्दा बढी सशस्त्र प्रहरी निर्वाचनमा खटाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले जानकारी दिनुभयो । 

प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात÷सातजना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा पाँच÷पाँचजना सशस्त्र प्रहरीलाई खटाइएको प्रहरी उपरीक्षक यादवले बताउनुभयो । 

त्यस्तै नेपाल प्रहरीले पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

जिल्लामा ४६२ मतदान केन्द्र र २९५ मतदान स्थल रहेको छ । जसमा सुरक्षाको दृष्टिकोणले २२४ अतिसंवेदनशील र २३८ संवेदनशील मतदान केन्द्र रहेको सप्तरीका प्रहरी प्रमुख सिंहले बताउनुभयो । 

यता मतदान हुने दिन असोज २ गते सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेरा बनाएर सुरक्षा दिने प्रहरी उपरीक्षक सिँहले भन्नुभयो । आवश्यकता परेकामा थप प्रहरी छिमेकी जिल्लाबाट ल्याउने उहाँले बताउनुभयो । 

जिल्लाको १८ वटै स्थानीय तहका लागि ४६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटाइने जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेशकुमार ठाकुरले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!