प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि

Posted on: 10 Sep, 2017

भदौ २५, ललितपुर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा आज प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । 

प्रधानमन्त्रीले दलित आन्दोलनका अथक योद्धा एवं समाजसेवी लोहारको निधनले आफूलाई अत्यन्त मर्माहत र दुःखी बनाएको तथा काँग्रेसको संगठन एवं समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमार्फत बताउनुभएको । 

काँग्रेसको संगठन, लोकतन्त्रको सुदृढीकरण र दलित उत्थानमा उहाँले पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताउँदै शोकसन्तप्त परिवारमा पार्टी र आफ्नातर्पmबाट समवेदना प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

लोहारप्रति काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेता अर्जुननरसिंह केसी, जीवन परियारलगायतले श्रद्धाञ्जलि प्रकट गर्नुभएको थियो । लोहारको ७४ वर्षका उमेरमा यही भदौ २३ गते उपचारका क्रममा सुमेरु अस्पताल ललितपुरमा निधन भएको थियो । लोहारका एक श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ । लोहारको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने कार्यक्रम छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!