'स्थानीय चुनावमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्छन'

Posted on: 14 Sep, 2017

भदौ २९, महोत्तरी । स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । 

महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गर्नुभयो । तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उहाँले खुलासा गर्नुभयो । हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो । 

भारत र नेपालको सम्बन्ध बलियो रहेको उहाँले स्पष्ट पार्नुभयो । सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

उहाँले एमालेको राष्ट्रवादले देश खतरामा फसेको आरोप लगाउनुभयो । मिलेर बसेको नेपालीलाई फुटाउने काम एमालेले गरिरहेको आरोप समेत उहाँले लगाउनुभयो । 

काँग्रेसका महामन्त्री शशांक कोइरालाले मधेशका मधेशीलाई अधिकारसम्पन्न बनाउनु र समृद्ध राष्ट्र निर्माण गर्नु काँग्रेसको प्रमुख दुई एजेण्डा रहेको बताउनुभयो । संविधान संशोधन गरेर मधेशको माग पूरागर्ने उहाँले जिकिर गर्नुभयो । 

त्यस्तै, काँग्रेस नेता विमलेन्द्र निधिले एमालेले संविधान संशोधन गर्न विपक्षमा मतदान गरेकाले एमाले मधेशमा पराजित हुने दाबी गर्नुभयो । 

काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले काँगे्रस जबजब हा¥यो तब तब देश हारेको बताउनुभयो । त्यसैले काँग्रेस जिताउनु भनेको देशलाई जिताउनु रहेको उहाँ बताउनुभयो। 

नेता रामशरण महतले सिके राउत, जयकृष्ण गोइत र केपी ओली प्रवृत्तिले राष्ट्रियता खतरामा परेको औँल्याउनुभयो । काँग्रेसका अर्का नेता बालकृष्ण खाँडले एमालेले प्रजातन्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाउनुभयो । 

काँग्रेसका युवा नेता गगन थापाले टोपी र धोती मिलेमात्र देश समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो । संविधानमा लेखेको कुरा पुरा काँग्रेसले गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!