थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

Posted on: 15 Sep, 2017


भदौ ३०, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । 

थबाङको स्थानीय जनसत्तालाई चुनौति दिन र क्रान्तिकारी जनतालाई हतोत्साहित बनाउन प्रचण्ड थबाङ आउन लागेको निकै गम्भीर कुरा भन्दै जिल्ला जनपरिषद् रोल्पाका संयोजक लालबहादुर वलीद्धारा जारी विज्ञप्तिमा अध्यक्ष घर्तीलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । 

साथै आवश्यक सोधपुछ पछि घर्तीलाई जनताकै बीचमा मुक्त गरिने पनि विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति ससुराली घरमा सुतिरहेको बेला थवाङ गाउँपालिका प्रमुख घर्तीलाई नेकपा कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । 

शनिबार आयोजित थवाङ गाउँसभा कार्यक्रम उदघाटनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई आफूहरुको अनुमतिविना किन बोलाएको भन्दै नेकपाले सोधपुछ गर्न नियन्त्रणमा लिएको बताइएको छ ।

अहिले जिल्लाका प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान टोलीले उनको खोजी कार्य जारी राखेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!