संखुवासभामा दशैँ अगाडि यातायात सञ्चालन गर्न राज्यमन्त्रीको निर्देशन

Posted on: 17 Sep, 2017

असोज १, संखुवासभा। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ । 

शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । “ठेकेदारको लापरवाहीका कारण समयमा सडक निर्माणको काम शुरु हुनसकेको छैन भन्ने व्यापक जनगुनासो आएको छ, चाँडो डोजर ल्याएर बाटो निर्माण गर्नुहोस्,”, राज्यमन्त्री गुरुङले भन्नुभयो । 

पटक पटक कालोपत्रे गर्ने नाममा ठूलो बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरेको जनगुनासो आएपछि राज्यमन्त्री गुरुङ कोसी राजमार्गको प्रवेशमार्ग टुटे देउरालीदेखि मुढे–मामलिङ र लेगुवा– तुम्लिङटार सडक खण्डको अनुगमनमा आउनुभएको हो । 

सोही अवसरमा सांसद दीपक खड्काले आफूले निर्वाचन क्षेत्र विकास कोषमार्फत वर्षेनी धेरै पैसा विनियोजन गरे पनि समयमा निर्माण सम्पन्न नभएको गुनासो पोख्नुभयो । 

पूर्व राज्यमन्त्री खड्काले जिल्ला सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई घच्घच्याउने काम नगरेकाले निर्माण ढिलो भएको बताउनुभयो । “दशैँ अगाडिसम्म सडक मर्मत कार्य सम्पन्न नभए निर्माण कम्पनी र त्यसमा काम गर्ने कर्मचारीलाई कारबाही हुन्छ,”, उहाँले भन्नुभयो ।    रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!