राजविराजमा फोरम अगाडि, तिरहुतमा संघीय फोरम विजयी

Posted on: 22 Sep, 2017

असोज ६, राजविराज सप्तरीको राजविराज नगरपालिकामा हिजो शुरु भएको मतगणना आज पनि जारी रहेको छ । 

राजविराज नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कडा प्रतिस्पर्धा छ । 

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यालयले दिएको मतपरिणामअनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार भीमराज यादवले ६३ मत प्राप्त गरी पहिलो स्थानमा हुनुहुन्छ । 

फोरम नेपाललाई पछ्याउँदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शम्भु यादवले ५० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, नेकपा (एमाले)का शुखराम यादवले ३५ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अनिस अन्सारीले ३५ मत प्राप्त गर्नुभएको बताइएको छ । 

नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी २४ र नेपाली काँग्रेसका धु्रवदेवले १२ मत प्राप्त गर्नुभएको बताइएको छ । 

यसैगरी, हनुमाननगर कंकालनी नगरपालिकामा पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच कडा प्रतिस्पर्धा रहेको पाइएको छ । 

पछिल्लो परिणामअनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले तीन हजार ११२ मत प्राप्त गरी अगाडि हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका प्रमुख उम्मेदवार शैलेशकुमार साह दुई हजार ६१० मत प्राप्त गरी दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

यसैबीच, अन्य स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले जानकारी दिनुभयो । 

तिरहुतमा संघीय फोरम नेपाल विजयी 

यसैबीच, सप्तरीको तिरहुत गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार हेमन्तकुमार बहडखेर (यादव)ले दुई हजार ९४२ प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका विजय यादवले दुई हजार १०४ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, संघीय समाजवादी फोरम नेपालकै उपप्रमुख पदका उम्मेदवार तीर्थमाया मण्डल (खत्बे) ले दुई हजार ७४० मत ल्याएर विजयी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा, नेपालका गीताकुमारी यादवले एक हजार ३२२ मत प्राप्त गर्नुभएको छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!