सिराहाको मिर्चैयामा माओवादी केन्द्र, कल्याणपुरमा काँग्रेस र नरहामा एमाले विजयी

Posted on: 22 Sep, 2017

असोज ६, सिराहा। दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । 

आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार सिरहाको मिर्चैया नगरपालिका प्रमुखमा माओवादी केन्द्र का श्रवणकुमार यादव चार हजार ७३६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सीताराम यादवले तीन हजार ९३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ । 

यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै जिवछी देवीले चार हजार ९३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निरसलादेवी साहले तीन हजार १४१ मत प्राप्त गर्नुभएको छ । 

यससँगै माओवादी केन्द्रले हासम्म सिरहाको चार स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै, सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसले जितेको छ । 

प्रमुखमा काँग्रेसका सूर्यनाथ मण्डल चार हजार ८०८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रामबाबु यादवले चार हजार ६०६ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा काँग्रेसकै रोहणी कुमारी यादव चार हजार ६६४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाकै उम्मेदवार मसुदा खातुनले चार हजार ४३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै काँग्रेसले हालसम्म सिरहाको दुई स्थानीय तह जितेको छ । 

यसैबीच, सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । 

त्यस्तै, नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी यादव निर्वाचित हुनुभएको छ । 

अध्यक्षमा निर्वाचित रामशरणले एक हजार ६५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अध्यक्ष उम्मेदवार रामसोगारत यादवले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, नरहा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित एमालेकै गुलावदेवीले एक हजार ८५५ मत प्राप्त गर्नुभयो ।    रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!