धनुषाको क्षीरेश्वरनाथ नपामा काँग्रेस विजयी

Posted on: 22 Sep, 2017

असोज ६, महेन्द्रनगर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले दुई हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ । 

प्रमुखमा योगेन्द्र पञ्जियारले पाँच हजार ५९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका सुखदेव यादवले तीन हजार १०५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख पदमा नेपाली काँग्रेसका रचना माथेमा विजय हुनुभएको छ । 

उपप्रमुख पदमा रचना माथेमाले पाँच हजार ७०१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यशोदा यादवले तीन हजार २८९ मत प्राप्त गर्नुभएको छ । 

क्षिरेश्वरनाथ नपाको वडा नं १, ३, ४, ५, ६, ८ र ९ मा काँग्रेसको प्यानल, वडा नं २ मा एमालेको प्यानल र वडा नं ७ मा अध्यक्षसहित चार पदमा एमाले र एक सदस्य काँग्रेस विजयी भएको छ भने वडा नं १० मा स्वतन्त्रको पंखा छापबाट राम पदारथ यादव वडाध्यक्षमा विजयी हुनुभएको छ । 

धनुषाका १८ स्थानीय तहमध्ये सात तहको परिणाम सार्वजनिक हुँदा काँग्रेस चार तहमा विजयी भएको छ । 

रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!