सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक

Posted on: 23 Sep, 2017

असोज ७, लहान । सिरहाको १७ स्थानीय तहमध्ये आज विहान सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ । 

अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् । 

पछिल्लो पटक आज बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् । 

सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा(यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित हुनुभएको छ । 

उहाँहरुको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार श्यामकुमार श्रेष्ठले पाँच हजार ८९ मत प्राप्त गर्नुभयो, भने नेकपा एमालेकै उपप्रमुख पदका उम्मेदवार सुनितादेवी सिंहले चार हजार ९२५ मत प्राप्त गर्नुभएको छ । 

यस्तै सिरहाको लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३०७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मतसहित उपप्रमुखमा विजयी हुनुभएको छ । 

उहाँहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अचमितलाल चौधरीले नौ हजार १३१ मत प्राप्त गर्नुभयो । भने काँग्रेसकै उपप्रमुख पदकी उम्मेदवार पुनम चौधरीले नौ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै सिरहाको बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ । फोरमका सन्तोषकुमार महतोले तीन हजार ९७९ मतसहित प्रमुखमा विजयी हुनभएको छ, भने फोरम नेपालकै रेखाकुमारी यादव तीन हजार ७६३ मतसहित उपाध्यक्षमा विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । 

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा काँग्रेसका बालेश्वर यादवले दुई हजार ८८१ र उपाध्यक्षमा काँग्रेसकै कुमारी यादवले दुई हजार ८५५ मत ल्याउनुभएको छ । 

त्यस्तै सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह चार हजार चार मतसहित विजयी हुनुभएको छ भने उपाध्यक्षमा फोरमकै आशादेवी यादव तीन हजार ६४६ मतसहित विजयी हुनुभएको छ । 

उहाँहरुको निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार चतुरानन्द ठाकुरले तीन हजार २४५ र उपाध्यक्षमा काँग्रेसकै अमरकला यादवले तीन हजार ३७१ मत प्राप्त गर्नुभयो । -रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!