नेपाली काँग्रेस लमजुङबाट ५१ जनाको दाबी

Posted on: 04 Oct, 2017

असोज १८, लमजुङ । आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा नेपाली काँग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ । 

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ५१ जनाको नाम केन्द्रमा सिफारिस भएको हो । 

क्षेत्रीय समितिमा दर्ता भएका आकांक्षीको नाम मंगलबार जिल्ला कार्य समितिमा पठाइएको थियो । जिल्ला कार्यसमितिको बैठकले मंगलबार नै बैठक बसी सबै नाम केन्द्रीय समितिमा पठाएको जिल्ला सभापति भेषबहादुर पौडेलले बताउनुभयो ।

नेपाली काँग्रेस, लमजुङका अनुसार केन्द्रीय निर्वाचनका लागि प्रत्यक्षतर्फ छ जनाले दाबी गरेका छन् भने समानुपातिकतर्फ नौ जनाले दाबी गरेका छन् । यसैगरी, प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फबाट २१ जना र समानुपातिकतर्फ १६ जनाले दाबी गरेका थिए । 

क्षेत्रीय समितिले सिफारिस गरेको एउटा नाम भने जिल्ला कार्यसमितिले हटाएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलको नाम जिल्ला कार्यसमितिले हटाएको हो । 

तनहुँको ब्यास नगरपालिका (साविक रिस्ती गाविस) का पौडेलले लमजुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दाबी गर्नुभएको थियो । जिल्लामा कहिल्यै नदेखिएका व्यक्ति उम्मेदवारको आकाँक्षी भएको भन्दै जिल्ला कार्य समितिले सर्वसम्मतरुपमा नाम हटाएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!