रोल्पामा प्रत्यक्षभन्दा समानुपातिकमा आकांक्षी धेरै, कुन दलका कति ?

Posted on: 06 Oct, 2017

असोज २०, रोल्पा । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् । 

समानुपातिकतर्फका आकांक्षी धेरै देखिएपछि यहाँका राजनीतिक दलले आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेका हुन् । नेपाली काँग्रेसको गत असोज १६ र १७ गते सदरमुकाममा बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिँचाइ राज्यमन्त्री तथा जिल्ला पार्टी सभापति अमरसिं पुनको नाम सिफारिस गरेको छ । 

यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट माधवप्रसाद आचार्य, नारायणप्रसाद सुवेदी, मिश्री हमाल, रेगबहादुर सुवेदी, सिमबहादुर विष्ट, दलसिं कामी, हरिबहादुर राना र कविता उपाध्यायको नाम सिफारिस गरेको छ । यसैगरी क्षेत्र नं २ बाट पूर्व सहायक मन्त्री भीमकुमारी बुढाको नाम प्रतिनिधिसभाका लागि समानुपातिकबाट सिफारिस भएको छ । 

प्रदेशसभामा क्षेत्र नं १ बाट पार्टी जिल्ला सचिव शेरबहादुर महराको नाम सिफारिस गरिएको छ भने सोही क्षेत्रबाट समानुपातिकतर्फ पूर्व सांसद लेखनाथ आचार्य, विद्यार्थी नेता मनोजमणि आचार्य, तीजा विष्ट, श्रीकुमारी रोका, मनिकला राना, पुष्पा श्रेष्ठ, पदम विष्ट र देवा आचार्यको नाम सिफारिस भएको छ । 

यसैगरी क्षेत्र नं २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ खटकबहादुर खत्री, खगेन्द्र हमाल र दीपक श्रेष्ठको नाम सिफारिस भएकोे छ । सो निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ प्रदेशसभाका लागि झक्कुप्रसाद घर्ती, बमबहादुर रोका, मोहन परियार, धनबहादुर रसायली, टीका थापा, शंकबहादुर छन्त्याल र टेकबहादुर बस्नेतको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ । 

यसैगरी नेकपा एमालेको असोज १९ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य गोकुलप्रसाद घर्तीको नाम सर्वसम्मत सिफारिस गरेको छ । 

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ कुमार दशौदीको नाम सिफारिस गरेको सो पार्टीले प्रदेशसभातर्फ क्षेत्र नं १ बाट पर्शुराम घर्ती र क्षेत्र नं २ बाट जिल्ला पार्टी अध्यक्ष हरिप्रसाद घर्तीको नाम सिफारिस गरेको छ । प्रदेशसभाका लागि भने समानुपातिकतर्फ सो पार्टीले पृथ्वीप्रसाद रोका, नेपबहादुर डाँगी, मनसिं डाँगी र राजकुमार कक्षपतिको नाम सिफारिस गरेको छ । 

नेकपा (माओवादी) केन्द्रको असोज १५ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि पार्टीका ५ नं प्रदेश इञ्चार्ज एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सभामुख ओनसरी घर्ती र महिला नेत्री जयपुरी घर्तीको नाम सिफारिस गरेको छ । 

प्रदेशसभाका लागि क्षेत्र नं १ को प्रत्यक्षतर्फ जोखबहादुर महरा र कुलप्रसाद केसीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ चन्द्रबहादुर बुढा, मीना बुढामगर, पवनकुमार कवर, ओमबहादुर पुन, सीता आचार्य, राजकुमार कवर र इन्द्रबहादुर रोकाको नाम सिफारिस गरेको छ । 

यसैगरी क्षेत्र नं २ बाट प्रत्यक्षमा दीपेन्द्र पुनको नाम सर्वसम्मत सिफारिस गरेको सो पार्टीले समानुपातिकतर्फ सुरेन्द्र घर्ती, टोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुन, हरिसरा घर्ती, भक्तबहादुर वली र काशीराम बुढामगरको नाम सिफारिस गरेको छ । 

जिल्लामा अन्य राजनीतिक दलले समेत धमाधम उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरिरहेका छन् । एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गरेलगत्तै पार्टी एकतासमेत गर्ने निर्णयले जिल्लामा उम्मेदवार सिफारिसमा केही अन्योल देखिए पनि पनि दुवै पार्टीबाट आएका नाम हाल जस्ताको तस्तै सिफारिस गरिएको ती पार्टीले बताएका छन् । 

निर्वाचनमा अत्यधिक मात्रामा पैसा खर्च हुने तथा प्रत्यक्षतर्फ जितको समेत सुनिश्चितता नभएकाले समानुपातिकतर्फ धेरैको अकांक्षा बढेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!