बाजुरामा तीन दलले उम्मेदवार टुंगो लगाए, को-को परे ? (नामावलीसहित)

Posted on: 07 Oct, 2017

असोज २१, बाजुरा । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाका लागि राजनीतिक दलहरूले उम्मेदवारको नाम टुंगो लगाएका छन् । 

जिल्लाका तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका हुन् । 

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बुधबारनै प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । यसैगरी, माओवादी केन्द्रले बिहीबार २७ जना आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी अध्यक्ष सहदेव बोगटीले बताउनुभयो । 

सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कर्णबहादुर विकको नाम सर्वसम्मतबाट सिफारिस गरिएको छ । प्रतिनिधिसभामा सर्वसम्मत उम्मेदवार बनेका विक आपूर्ति राज्यमन्त्री हुनुहुन्छ । 

प्रतिनिधिसभाको समानुपातिकतर्फ मनलाल खत्री, भरत बुढालगायतको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट सहदेव बोगटी र विनिता विकको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सातजनाको नाम सिफारिस गरिएको छ । 

यसैगरी, प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा पूर्णबहादुर अधिकारी र हिरेन्द्र बाँनियाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा भने आठजनाको नाम केन्द्रमा पठाइएको छ । यसैगरी, नेकपा (एमाले) बाजुराले पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । 

एमालेले शुक्रबार प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य लालबहादुर थापालाई सर्वसम्मत चयन गरेको छ । यसैगरी, समानुपातिकमा दयालबहादुर शाही, मीनबहादुर विष्ट, कासी विक, मनदेवी ओलीलाई सिफारिस गरेको छ । 

एमालेले निर्वाचन क्षेत्र १ मा प्रत्यक्षतर्फ निर्मला रोकाया, पूर्ण बहादुर रावत, वलदेव रेग्मी, राज बहादुर गिरी लगायतको नाम केन्द्रमा पठाएको प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनुभयो । 

समानुपातिकमा नीरबहादुर शाही, नन्दबहादुर शाहीलगायतको नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चन्द्रबहादुर थापा, नरेश रोकाया, प्रकाश शाह, भरत थापा र बसुन्धरा रोकायाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा कर्णबहादुर थापा, कासी नेपाली, रमेश नेपालीलगायतको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । 

आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) र माओवादी केन्द्र आआफ्नै नेताको नाम सिफारिस गरेका छन् । एमाले–माओवादी केन्द्रबीच ६०÷४० को भागबण्डा भएपनि उनीहरूले आआफ्नै उम्मेदवारको नाम पठाएका हुन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!